दक्षिण एसियामै पहिलो नविन प्रविधिको शुद्ध खानेपानी आपूर्ति प्रणाली बर्दियामा स्थापना

बर्दियाको बारबर्दिया नगरपालिका नविन प्रविधिको शुद्ध खानेपानी आपूर्ति प्रणाली जडान कार्य सम्पन्न भएको समाचार छ | बारबर्दिया नगरपालिकाको वडा नम्बर ९ स्थित ढकैला गाउँमा आज विशेष कार्यक्रमको आयोजना गरि शुद्ध खानेपानी आपूर्ति प्रणालीको समुद्घाटन तथा हस्तान्तरण सम्पन्न गरिएको छ | विश्व प्रसिद्ध यामाहा प्रविधिको सो प्रणाली दक्षिण एसियामै पहिलो पटक नेपालको विकट ग्रामिण क्षेत्रमा स्थापना भएको छ | मंगलबार सम्पन्न समुद्घाटन कार्यक्रममा बारबर्दिया नगर प्रमुख सहित दातृ निकायका विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । बारबर्दिया नगरपालिकाको वडा नम्बर ९ स्थित ढकैला गाउँमा आयोजित विशेष समारोह स्थानीय खानेपानी तथा सरसफाई समितिका अध्यक्ष श्री हरिश चन्द्र शाह ज्युको अध्यक्षतामा तथा नगर प्रमुख छविलाल थारु ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । समारोह कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नम्बर ९ का अध्यक्ष श्री  देवेन्द्र कुमार बिस्ट, आड्रा नेपालका देशीय निर्देशक टम पिग्नन, आड्रा जापानका देशीय निर्देशक याशुकी आवकी तथा यामाहा जापानका जनरल म्यानेजर इवाई यासुशी, इन्रूडेक संस्थाका अध्यक्ष लगाएतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो |

स्थानीय नगरपालिकाका प्रतिनिधिहरु तथा स्थानिय नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरुको सक्रिय सहभागीतामा सम्पन्न कार्यक्रममा बोल्दै आड्रा नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम कुमार भट्टले मानव जीवनमा शुद्ध पानीको महत्वबारे प्रकाश पार्नु भएको थियो | मन्तव्यका क्रममा प्रमुख अतिथि तथा नगर प्रमुख छविलाल थारुले दातृ निकायले गरेको मानवीय सहयोगका लागी धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले पूर्ण स्वामित्व ग्रहण गर्दै आगामी दिनमा शुद्ध खानेपानी आपूर्ति प्रणालीको दिगो व्यवस्थापन तथा सन्चालनको लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो | कार्यक्रममा बोल्दै स्थानीय साझेदार संस्था इनरुडेकका अध्यक्ष धर्मलाल रोकायाले प्रणाली स्थापनाका लागी स्थानीय नगरपालिकाको सक्रियता र समन्वयका लागी धन्यवाद ज्ञापन गर्नुभयो |

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्धारा स्थानीय साझेदार संस्था इनरुडेक संगको सहकार्यमा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा बारबर्दिया नगरपालिकामा सो  शुद्ध खानेपानी आपूर्ति प्रणालीको स्थापना भएको हो | समुद्घाटन तथा हस्तान्तरण समारोहको संचालन तथा सहजीकरण  आड्रा नेपालका परियोजना संयोजक तर्क बहादुर थापाले गर्नु भएको थियो ।